काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै नेता श्रेष्ठले राष्ट्र बैंकका गभर्ननर महाप्रसाद अधिकारीको राजीनामा मागेका हुन् ।
२०७३ सालको महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको उनले बताए । ‘एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न स्थिति होला कि नहोला भन्ने प्रश्न पनि छ’, श्रेष्ठले भने, ‘पुष्टि भएको छैन, कि हैन भनेर पुष्टि गर्ने कागजात चाहियो, हैन भने विवाद भयो भनेर राजीनामा दिनुपर्छ ।’
प्रतिनिधि सभामा पनि बुधबार माओवादीलगायत सत्तारुढ दलका सांसदहरुले एम अधिकारीबारे प्रश्न उठाएका थिए । एमाले अर्थ विभागमा एम अधिकारीको नाम भएको भन्दै गभर्नर अधिकारीसँग जोडेर आलोचना भइरहेको छ ।
नेकपा एमाले र गभर्नर अधिकारीले दुवैले उक्त नामका व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेपनि एम अधिकारी नामका व्यक्तिलाई सार्वजनिक गराउन सकेका छैनन् ।