काठमाडौं - सरकारले थ्री नेशन कप फुटबलका विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
दशरथ रङ्गशालामा गएको सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि संजोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री दशरथ रङ्गशाला पुग्नुभएको थियो । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैंया पुरस्कार दिने घोषणा गरिसकेको छ ।