×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेदरल्यान्ड्समाथि ६ विकेटको जित, नेपाल त्रिकोणात्मक सिरिजको शीर्ष स्थानमा

नेदरल्यान्ड्समाथि ६ विकेटको जित, नेपाल त्रिकोणात्मक सिरिजको शीर्ष स्थानमा

काठमाडौं- स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले नेदरल्यान्ड्समाथि रोमाञ्चक जित निकालेको छ। अन्तिम ओभरमा लोकेश बमले दुई छक्का प्रहार गरेपछि नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

ग्लास्गोमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक हुँदा लोकेश बमले पहिलो र चौथो बलमा छक्का हान्दै नेपाललाई अविस्मरणीय जित दिलाए।

नेपालको जितको आधार ओपनर कुशल भुर्तेलले तयार पारेका थिए। उनले ५१ बलमा ६ चौकासहित ६५ रनको महत्त्वपूर्ण योगदान दिए। त्यसैगरी, आरिफ शेखले २३ बलमा ३९ रनको आक्रामक पारी खेले भने भीम सार्कीले १६ बलमा २७ रन जोडे। दीपेन्द्रसिंह ऐरी १२ बलमा १६ रनमा अविजित रहे, जसमा उनले सबै रन दौडिएर लिएका थिए।

त्यसअघि, टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो। उसका लागि ओपनर माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्काको मद्दतले ८६ रनको उत्कृष्ट पारी खेले। अन्त्यतिर भान डेर मार्वीले २१ बलमा अविजित ३६ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए।

बलिङतर्फ नेपालका लागि करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेश सिंह, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट हात पारे।

यो जितसँगै नेपाल ३ खेलबाट ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। समान ४ अंक भए पनि नेदरल्यान्ड्स दोस्रो स्थानमा झरेको छ। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार घरेलु टोली स्कटल्यान्डसँग खेल्नेछ।

प्रतिकृया दिनुहोस्