धनगढी- सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त गरेका मुख्यमन्त्री कमल शाहले अन्य मन्त्री भने विश्वासको मतपछि नियुक्त गर्ने रणनीति लिएका छन् । संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहले उपधारा ४ अनुसार ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि हिजो राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि मुख्यमन्त्री भएका शाहले पनि विश्वासको मत पछि मात्रै मन्त्री नियुक्त गर्ने बताएका छन् ।
यसअघि रावलले पनि एमालेकी उपनेता सन्तोष शर्मा थापा र माओवादी दलका नेता खगराज भट्टलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरु जिम्मेवारी नपाउँदै बिदा हुनु परेको थियो । अहिले शाहले पनि कांग्रेसबाट प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहले देउवालाई आर्थिक मामिला तथा योजना मन्त्री र शाहीलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।