×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेले हस्ताक्षर गर्न नमान्दा हेटौंडा उपमहानगरको नगरसभा प्रभावित

एमालेले हस्ताक्षर गर्न नमान्दा हेटौंडा उपमहानगरको नगरसभा प्रभावित

काठमाडौं- एमालेका कार्यपालिका सदस्यहरूले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ।

एमालेका कार्यपालिका सदस्यहरूले पुस्तिकामा हस्ताक्षर गर्न नमाने पछि शुक्रबार बिहान १० बजेका लागि बोलाइएको हेटौंडा उपमहानगरपालिकाको ११ औं अधिवेशन प्रभावित बनेको हो। हालसम्म पनि चल्न नसकेको नगरसभा सञ्चालनका लागि एमालेसँग नगर प्रमुख मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँ बैठक बसिरहेका छन्।

बागमती प्रदेशको एकमात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाखको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख रुपैयाँ खर्च व्यहोर्ने गरि बेहोरिने गरी उपमहानगरले बजेटको तयारी गरेको जनाइएको छ।

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत छ। कार्यपालिकाको २९ सदस्यमध्ये एमालेको १८, कांग्रेसको उपमेयर सहित ८, नेकपा एकीकृत समाजवादीको मेयर सहित २ र माओवादी केन्द्रका एक सदस्य छन्।

त्यस्तै एमालेको नगरसभामा समेत बहुमत छ। कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन्। एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकमा बैठक सञ्चालनको कार्यविधि संशोधनको प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमाथि सहमति नजुटेपछि बैठक बहिष्कार गरेका थिए।

प्रतिकृया दिनुहोस्