काठमाडौँ - सत्तासीन गठबन्धनका एक घटक माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धन शीर्षस्थ नेताहरूको ‘गठबन्धन’ जस्तो बनेको आरोप लगाएका छन् । ‘मेरो नेतृत्वमा गठबन्धनको सरकारमा सहभागी हुनुपर्छ’ भन्दै आएका नेता श्रेष्ठ सरकारमा सहभागी हुन नपाएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्ट बनेका छन् । यसपछि नेता श्रेष्ठले गठबन्धनको कामकाे आलोचना गरेका हुन् ।
शुरूका दिनका सबै बैठकहरूमा आफू पनि सधैँ उपस्थित भएकाे र संघर्ष सफलपछिका कतिपय बैठकहरूबारे आफूलाई जानकारी भएको भन्दै नेता श्रेष्ठले असन्तुष्टि जाहेर गर्दै आएका छन् । यसबीचमा गठबन्धनको बैठकमा अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउनेबारे छलफल भएको थियो । उक्त बैठकमा नेता श्रेष्ठले सबै राजदूतहरूलाई बोलाउन नहुने अडान लिएका थिए । त्यसपछि अर्को बैठकमा भएको छलफल तथा निष्कर्षबमोजिम सरकारले असोज ५ गते १२ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
नेता श्रेष्ठले यसप्रति आपत्ति जनाउँदै यसकाे विपक्षमा उभिएका छन् । सबै राजदूतहरूलाई फिर्ता बोलाउँदा अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूतहरूलाई फिर्ता बोलाउने नजिर बस्ने र त्यो लोकतान्त्रिक नहुने जिकिर नेता श्रेष्ठको छ । ‘कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ,’ नेता श्रेष्ठले आफ्नो फेसबूकमार्फत भनेका छन्, ‘अन्यथा यो देश र व्यक्ति दुवैका लागि अन्यया हुन्छ । पार्टी बाहिरका याेग्य र सक्षम व्यक्तिहरूलाई राजदूतमा नियुक्त गराैँ ।’
नेता श्रेष्ठले तीन देशका लागि राजदूत नियुक्त गरिसकिएको भए पनि बाँकी देशहरूका लागि नियुक्त गरिँदा पार्टी बाहिरबाट याेग्य व्यक्ति छानिनुपर्ने बताएका छन् । उनले भनेका छन् , ‘बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ । कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔँ ।’
सरकारले गत कात्तिक ७ गते तीन देशका लागि राजदूत नियुक्त गरिसकेको छ । जसमा बेल्जिअम (ईयू) का लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्का नियुक्त भएका थिए ।
नेता श्रेष्ठ पार्टीभित्रै पनि खुसी छैनन् । उपप्रधान मन्त्रीसहित थप अर्काे मन्त्रालयकाे दाबी गर्दै आएका नेता श्रेष्ठ सरकारमा सहभागी हुन नपाएपछि रिसाएका छन् ।