काठमाडौं - राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो। नेकपा (एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य रहनुभएकी न्यौपानेले मंगलबारदेखि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा न्यौपानेलाई उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको जानकारी दिनुभएको छ।
यसअघि मंगलबार बिहानै संघीय मामिला मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको थियो। उहाँको राजीनामापछि रिक्त रहेको पदमा न्यौपानेलाई नियुक्त गरिएको हो।