काठमाडौं - अनलाइन टिभी पत्रकार सङ्घले नेपालमा पहिलो पटक ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा सङ्घले कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग न्यूनीकरण गर्ने र यसको प्रयोगलाई सही दिशा दिने उद्देश्यले १२ बुँदे आचारसंहिता घोषणा गरेको हो। एआईको प्रयोग अनलाइन टिभीमा बढ्ने सम्भावनालाई मध्यनजर गर्दै पत्रकारलाई बेलैमा सचेत र जिम्मेवार बनाउन यो आवश्यक भएको सङ्घले जनाएको छ।
आचारसंहिता अनुसार, एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परीक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात् सम्पादकबाटै गरिनेछ र त्यसपछि मात्र प्रकाशन गरिनेछ। एआईद्वारा सिर्जित सामग्रीको पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिनुपर्नेछ भने एआई प्रयोग भएको सामग्रीमा त्यसको स्पष्ट जानकारी समेत दिनुपर्नेछ।
व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील वा सुरक्षासम्बन्धी सूचनामा प्रचलित कानुनको पालना गर्दै विशेष सावधानी अपनाइने आचारसंहितामा उल्लेख छ। साथै, भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्ने गरी एआईको प्रयोग नगरिने प्रतिबद्धता पनि गरिएको छ। सूचना प्रविधि संस्था क्यान महासङ्घले यसलाई नेपालको पहिलो एआई आचारसंहिता भन्दै अन्य क्षेत्रका लागि पनि यो अनुकरणीय भएको बताएको छ।
सङ्घमा आबद्ध सबै अनलाइन टिभी पत्रकारले यो आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्नेछ र त्यसको अनुगमन सङ्घले गर्नेछ। यसअघि सङ्घले २०७७ सालमा अनलाइन टिभी स्वनियमन निर्देशिका पनि जारी गरेको थियो।