काठमाडाैं- नयाँ सरकार निर्माणमा दाबी पेश गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
बालुवाटार बैठक भाँडिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले–माओवादी नेतृत्वको गठबन्धनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । उक्त सहमतिपछि प्रचण्डसहितका नेताहरु राष्ट्रपति निवास शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो ।