काठमाडौँ- कमेडियन अपूर्व क्षितिज सिंहलाई बुधबार अदालतमा उपस्थित गराइने भएको छ। कमेडियन सिंहलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको हो।
यसअघि अनुसन्धान सकिएपछि अदालत जाने बेला बिरामी भएपछि उनलाई छाडिएको थियो। कमेडियन सिंहलाई हिजो मात्रै प्रहरीले पुनस् हिरासतमा लिएको थियो। नेवार समुदायमाथि आँच आउने गरी कमेडी गरेकाले उनीमाथि अनुसन्धान भइरहेको छ।
कमेडियन सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यङ्ग्य गरिएको थियो। सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
यद्यपि सिंहले भने माफी माग्दै युट्युबबाट सो भिडियो हटाइसकेका छन्। उनले कसैमाथि अपमान गर्ने उद्देश्य नभएर रमाइलोका लागि मात्रै व्यङ्ग्य गरेको प्रतिक्रिया दिएका थिए।