अहिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन जारी छ । राष्ट्रिय सम्मेलनको नाम दिँदै स्थानीय तहदेखि नेतृत्व चयन गर्दै आएको माओवादीले महाधिवेशनको उद्घाटनको केही समय अगाडि आठौं महाधिवेशनको नाम दिइएको छ । कम्युनिस्टहरूमा नेतृत्वलाई पूजा गर्ने परिपाटी राजनीतिक संस्कारको रुपमा मौलाउँदै गएको छ । एक महिना अगाडि भएको नेकपा एमालेको महाधिवेशनमा पनि नेतृत्वलाई देवत्वकरण गरेको जगजाहेर नै छ । एमालेको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प देखिएको थिएन । अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा पनि ओलीले चाहेका नेताहरू नै पुगेका छन् । अहिले माओवादी केन्द्रको महाधिवेशनमा पनि त्यो दोहोरीँदै छ । प्रचण्डको नजरमा पर्नेहरू अगाडि आउने निश्चित छ । विगतदेखिको राजनीतिलाई नियाल्दा कम्युनिस्ट पार्टीहरूमा नेतृत्वको विरोध गर्नेहरू पार्टीबाट निकालिएका छन् । अहिले कम्युनिस्टहरूको अगाडि के नेतृत्व नै सर्वेसर्वा हुन ? भन्ने प्रश्न उठेको छ ।
एमालेको महाधिवेशन र माओवादी केन्द्रको महाधिवेशन उस्तै भएको छ । यि दुई पार्टीको नेतृत्व चयनमा महाधिवेशन भन्दा अगाडि नै निश्चित भएको थियो । तर केही दिन अघि सकिएको नेपाली कांगे्रस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भने नेतृत्वको लागि लोकतान्त्रिक प्रतिस्पर्धा भएको थियो । निर्वाचन रोचक भएको थियो । कांगे्रसको महाधिवेशनमा सभापतिको आकांक्षी धेरै थिए । निर्वाचनसम्म आउँदा पाँच जनामा प्रतिस्पर्धा भएको थियो । नेतृत्वमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा दोहोरीए पनि महाधिवेशनमा नेतृत्वको निर्वाचन लोकतान्त्रिक भएको जनताले महसुस गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पनि लोकतान्त्रिक ढंगले नेतृत्व चयन भयो । तसर्थ पार्टीले नयाँ र युवा नेतृत्व पाएको छ ।
कम्युनिस्टहरूमा एमाले र माओवादी केन्द्र मात्र नभएर अन्य स—साना दलहरूमा पनि एक नेताले जिवनभरी पार्टी चलाएका छन् । पछिल्लो समय नेकपा एमालेलाई ओली पार्टी भने गरेझै माओवादी केन्द्रलाई प्रचन्ड पार्टी भन्दा फरक नपर्ने भएको छ । अन्य साना कम्युनिस्टहरूमा पनि यो समस्या जब्जाहेर छ ।
माओवादी केन्द्रको महाधिवेशनको कुरा गर्दा प्रज्ञा भवन कमलादीको मूल ढोकाबाट भित्र छिर्नेबित्तिकै गजधम्म परेको स्ट्याचु देखिन्छ । त्यसको दायाँ–वायाँ जता लागे पनि तपाईंले पछ्याउने स्ट्याचुमै देखिएको अनुहार हो, ‘सुप्रीम कमाण्डर’ पुष्पकमल दाहाल (प्रचण्ड) को । ध्वजापताका, ब्यानरहरूमा, ठाउँठाउँमा कोरिएका नारामा जताततै प्रचण्डलाई देखिनुको साथै कलाकारहरूले प्रस्तुत गरेको गीतहरूमा पनि प्रचण्डको जयजयकार गरिएको थियो । यसरी नै ओलीको जयजयकार गर्दा सर्वत्र आलोचना आएको थियो ।
उद्घाटन सत्रमा एमालेको प्रतिनिधित्व गरेर शुभकामना दिन पुगेका महाशचिव शकर पोखरेलले र प्रचण्डले एमाले र माओवादीको पार्टी एकता गलत नभएको ठोकुवा गरे । दुबै नेताले कहाँनिर हामी चुक्यौं ? र पार्टी फुट्न पुग्यो भनेर समिक्षा गर्न पर्ने धारणा राखे । यस विषयमा नेपाली जनताले सत्ताको लालचले गर्दा पार्टी तिन टुक्रा भएको बुझि सकेका छन् । कुनै भ्रममा पार्ने कोसिस नगर्दा हुन्छ ।
अहिले माओवादी केन्द्रको आठौं महाधिवेशनमा आत्मासमिक्षा त गर्ने भनिएको छ तर नेतृत्व परिवर्तन गर्ने पक्षमा कसैको चाँसो छैन् । माओवादी केन्द्रका प्रतिनिधिहरूले नेतृत्व परिवर्त नभए पार्टीले नयाँ दिशा लिँदैन् भन्ने जान्न जरूरी छ । सत्तालाई आफ्नो इसारामा नचाइरहने प्रचण्डले पार्टीलाई नयाँ दिशामा केन्द्रीत गर्लान भन्नेर विस्वास गर्नु प्रतिनिधिहरूको वेवकुफी हो । प्रचण्ड यस्तो नेता हुन जस्ले आफ्नो स्वार्थको लागि जस्तो सुकै राजनीतिक कदम पनि चाल्न सक्ने उनिमा क्षमता छ । माओवादीमा उनलाई अभिभावक मान्नेलाई मात्र स्थान छ । प्रचण्डको विरोध गर्नेहरू कुनै न कुनै वाहानामा पार्टीबाट निस्किन वाध्य हुन्छन् । सशस्त्र जनआन्दोलनमा कमाण्डरको भूमिका निभाएका लगायत अन्य दर्जनौं नेताहरूले माओवादी छाडी सकेका छन् ।