×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्णालीमा प्रदेश प्रमुख फेरिँदै, कलाैनीकाे ठाउँमा परियार

कर्णालीमा प्रदेश प्रमुख फेरिँदै, कलाैनीकाे ठाउँमा परियार

सुर्खेत- कर्णाली प्रदेशमा प्रदेश प्रमुख फेर्ने तयारी गरिएको छ । अहिले यहाँ प्रदेश प्रमुखको भूमिकामा एमालेका गोविन्दप्रसाद कलौनी छन् । उनलाई हटाएर माओवादी केन्द्रका तिलक परियारलाई प्रदेश प्रमुख बनाउने तयारी गरिएको हो ।प्रदेशमा केन्द्रीय गठबन्धअनुसारको सरकार छ । जीवनबहादुर शाहीले कात्तिक १५ मा राजीनामा दिएसँगै प्रदेशको नेतृत्व कांग्रेसले गरिरहेको छ । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व जीवनबहादुर शाहीले गरेका छन् । योसँगै प्रदेश प्रमुखसमेत फेरिने भएका हुन् ।

प्रदेशका एक नेताकाअनुसार अब चाँडै यहाँ परियार प्रदेश प्रमुख बन्नेछन् । ‘यो खासमा प्रदेशमा हुने छलफल होइन,’ ती नेताले भने, ‘हाम्रो तहमा छलफल हुने कुरा होइन । तर, यो विषयमा छलफल चाहिँ भइरहेको छ । ढिलोचाँडो उहाँ (तिलक परियार) प्रदेश प्रमुख बन्नुहुन्छ । केन्द्रमा योबारेमा छलफल भइरहेको छ । लगभग सहमति पनि जुटिसकेकाे छ ।’ प्रदेश प्रमुख परिवर्तन गर्नुको ध्येय चाहिँ के हो ? भन्ने प्रश्नमा ती नेताले भने, ‘राजनीतिक रूपबाट हेर्दा धेरै कुराहरू होलान् । यही यही कारणले परिवर्तन गर्नुपरेको हो भन्ने टिपोट त छैन ।’ ती नेताले केन्द्रीय नेतृत्वमै यो विषयमा छलफल र सहमति भइसकेकाे दाबी गरेका छन् ।

परियार यसअघि नै प्रदेश नं. २ को प्रदेश प्रमुख भइसकेका व्यक्ति हुन् । उनी पुराना वामपन्थी नेता हुन् । दुईपटक सांसदसमेत बनेका परियारले नेपाली कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान पुर्‍याएकाे वामपन्थी नेताहरू बताउँछन् । परियारले तत्कालीन माओवादी नेता डा बाबुराम भट्टराईलाई समेत पार्टी सदस्यता दिएका थिए । परियार विसं ०६४ को पहिलो संविधान सभा चुनावमा बाँके क्षेत्र नं. १ बाट १,६८७ मत ल्याएर सभासद बनेका थिए ।

प्रतिकृया दिनुहोस्