काठमाडौं- उदयपुर– १ मा १०० मत पत्र बदर गरेर मतगणना सरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) अन्तर्गतका हुन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेशसभा २ तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको जानकारी दिए ।
मतगणनाको क्रममा प्रतिनिधि सभा तर्फको प्रत्यक्षतर्फको मतपेटिकाभित्र प्रदेशसभा २ अन्तर्गतका प्रत्यक्षतर्फका १०० थान मतपत्र फेला परेपछि मतगणना रोकिएको थियो । उदयपुर –१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र एमालेकी मञ्जु कुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिर–१० गते मतगणनाको क्रममा खोलिएका जनता मावि, श्रीपुर (क), जनता मावि, देउरी (क), जनता मावि, देउरी (ख), जनता मावि, देउरी (ग), अम्वेवर मावि, राजावास (क), बालमन्दिर मावि, बोक्से (ख), मावि चिलाउने (ख) समेत १० वटा मतदान केन्द्रहरुको मतपेटिकमामा मिसाइएका मतपत्रहरु बदर गरिएका हुन् ।