×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अमेरिकाले किन बहिष्कार गर्‍यो बेइजिङ ओलम्पिक ?

अमेरिकाले किन बहिष्कार गर्‍यो बेइजिङ ओलम्पिक ?

काठमाडाैँ- अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो ।

तर उसले अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको उत्सवमा योगदान नगर्ने बताइन् । साकीले अमेरिकी सरकारले ‘यो क्षणका लागि प्रशिक्षण गरिरहेका खेलाडीहरूलाई दण्डित गर्नु सही कदम नहुने’ तर २०२२ का खेलहरूमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाउनुले स्पष्ट सन्देश दिन सक्ने महसुस गरेको बताएकी छन् ।

अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलिम्पिक्स आयोजना गर्दैछ । चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई ‘नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्य’को सङ्ज्ञा दिँदै उक्त कार्य ‘चिनियाँ जनताविरुद्ध अपराध’ ठहरिने यसअघि नै बताइसकेको छ । वाशिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक ‘कपटपूर्ण कार्य र राजनीतिक पहल’को सङ्ज्ञा दिँदै प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने जनाएको छ ।

तर बाइडन प्रशासनको कदमलाई अमेरिकाका दुवै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन् । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सकी सभामुख न्यान्सी पेलोसीले प्रशासनको निर्णयको स्वागत गरेको बताएकी छन् । तर केही नेताहरूले भने कूटनीतिक बहिस्कार पर्याप्त नरहेको आफूहरूको विश्वास रहेको जनाएका छन् । -बीबीसी

प्रतिकृया दिनुहोस्