×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीप लामिछानेको सम्मानमा जन्मथलोमा रङ्गशाला बन्दै

सन्दीप लामिछानेको सम्मानमा जन्मथलोमा रङ्गशाला बन्दै

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई सम्मान व्यक्त गर्दै उनको जन्मथलो स्याङ्जाको अर्जुनचौपारीमा एक सुविधासम्पन्न क्रिकेट रङ्गशाला निर्माण सुरु गरिएको छ। गाउँपालिकाको अगुवाइ र स्थानीयको जनश्रमदानमा बन्न लागेको यो रङ्गशालाले खेलकुद र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।


अर्जुनचौपारी गाउँपालिका-५, आरुचौरमा जन्मिएका सन्दीपको सम्मानमा सोही वडाको थाप्लेमा रहेको सार्वजनिक गौचरनलाई रङ्गशालामा परिणत गर्न लागिएको हो। गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ बाट मैदान सम्याउने काम सुरु भइसकेको छ। वर्षा रोकिएलगत्तै निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाइने उनले बताए।


समुद्री सतहबाट १९०७ मिटरको उचाइमा रहेकोले रङ्गशालाको नाम ‘नाइन्टिन ओ सेभेन अरिना’ राखिएको छ। राष्ट्रियस्तरको मापदण्डअनुसार मैदानको बीचबाट चारैतिर ४५ मिटर वृत्ताकारमा निर्माण भइरहेको छ।


अध्यक्ष तिवारीले भने, "सन्दीपले देश र आफ्नो जन्मथलोको नाम विश्वमा चिनाएका छन्। उनको सम्मानसँगै नयाँ प्रतिभा उत्पादन गर्नु हाम्रो मुख्य उद्देश्य हो।" रङ्गशाला निर्माणस्थल दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे 'सिरुबारी' नजिकै पर्ने भएकाले यस क्षेत्रलाई खेल पर्यटनको केन्द्र बनाउन सकिने ठूलो सम्भावना छ। निर्माण सम्पन्न भएपछि यहाँ राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने र खेलाडीका लागि छुट्टै अभ्यास स्थल बनाउने गाउँपालिकाको योजना छ।

प्रतिकृया दिनुहोस्