काठमाडौं - सुदूरपश्चिममा शहीद दशरथ चन्दको नाममा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने विधेयकले कानुनी रूप लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेसँगै विश्वविद्यालय स्थापनाको बाटो खुलेको हो।
संघीय संसद्का दुवै सदनबाट पारित भई आएको उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले कैलालीको गेटामा रहेको मेडिकल कलेजको संरचना उपयोग गरी विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ।
शिक्षामन्त्री अशोककुमार राईका अनुसार, यो विश्वविद्यालयको मुख्य उद्देश्य स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति स्वदेशमै उत्पादन गर्नु र आम नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु हो। विधेयक प्रमाणीकरण भएसँगै चिकित्सा शिक्षा अध्ययन, अध्यापन र अनुसन्धानका लागि एक विशिष्टिकृत विश्वविद्यालय स्थापना हुने निश्चित भएको छ, जसले सुदूरपश्चिम क्षेत्रको शैक्षिक र स्वास्थ्य विकासमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ।