×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

९ खेलाडी बन्द प्रशिक्षणमा गएनन्, सबै खेलाडी सहभागी हुने पुबुदुको विश्वास

९ खेलाडी बन्द प्रशिक्षणमा गएनन्, सबै खेलाडी सहभागी हुने पुबुदुको विश्वास

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण सोमबारबाट शुरू भएको छ । क्यान र खेलाडीबीचको विवादका कारण एक दिन ढिलो शुरू भएको प्रशिक्षणमा पनि सबै खेलाडी भने सहभागी भएका छैनन् । ३० मध्ये १४ खेलाडी सोमबार मैदानमा उपस्थित रहे भने पाँच जना खेलाडी पीसीआर परीक्षणका क्रममा रहेका छन् ।

नन्दन यादव,  विनोद भण्डारी, हरिशंकर शाह,  विक्रम सोब र सुशन भार होटलमा पीसीआरका लागि रोकिएका क्यान स्रोतले जनाएको छ । कारबाहीमा परेका चारसहित ९ खेलाडीले भने होटलमा नै रिपोर्टिङ गरेका छैनन् ।

ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी,  सोमपाल कामी, करण केसी, रोहितकुमार पौडेल, कमलसिंह ऐरी,  कुशल भुर्तेल , अभिनास बोहोरा र  सन्दीप जोराले अहिलेसम्म कुनै जानकारी नगराएको क्यान स्रोतको भनाइ छ ।

यसैबीच राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले भोलि र पर्सिसम्ममा सबै खेलाडी सहभागी हुने विश्वास व्यक्त गरेका छन् । सञ्चारकर्मीसँग उनले भने, ‘मैले अहिले नै सबै कुरा मिलिसक्यो भन्नु हतार हुन्छ यो विषयमा क्रिकेट एसोसिएसनले आधिकारिक रूपमा आफ्नो धारणा बाहिर ल्याउने छ।’ उनले थपे ‘तर मलाई विश्वास छ सबै खेलाडी भोलि या पर्सिसम्ममा क्याम्पमा उपस्थित हुनेछन्।’

उनले राष्ट्रिय टीमको तयारी भएकाले बोलाएका खेलाडी अनुपस्थित हुने कुरा आफूले नसोचेको बताए । उनले सबै देशले तयारी गरिरहेको भन्दै नेपालको तयारी राम्रो हुने बताए । उनले अहिले नै दुःखी हुनुपर्ने अवस्था नभएको समेत बताए। उनले सबै ३० खेलाडीबाटै राम्रो स्क्वाड बन्ने विश्वास व्यक्त गरे।

दशानायकेले पछिल्लो समय बोर्डले आफूलाई निकै सहयोग गरेको भन्दै पछिल्लो समस्याको समाधान हुने विश्वास व्यक्त गरे।उनले कप्तान सन्दीप लामिछाने नै रहेको भन्दै अहिले नै एकदिवसिय र टी-२० को छुट्टा छुट्टै कप्तानको विषयमा आफूलाई जानकारी नभएको पनि बताए ।

आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टी-ट्वेन्टी विश्वकप ग्लोबल छनोटको लागि नेपालले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर आइतबार (हिजोदेखि) बन्द प्रशिक्षण शुरू गर्ने क्यानले तयारी गरेको थियो । तर १४ खेलाडीले होटलमा रिपोर्टिङ नगरेपछि प्रशिक्षण आइतबार शुरू हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस्