×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डडेल्धुरादेखि गुगलसम्म: २५ वर्षीय प्रशान्तले रचे इतिहास, 'मातंगी' फन्ट अब विश्वभर

डडेल्धुरादेखि गुगलसम्म: २५ वर्षीय प्रशान्तले रचे इतिहास, 'मातंगी' फन्ट अब विश्वभर

काठमाडौं - डडेल्धुराको एउटा सानो गाउँबाट २५ वर्षीय युवा प्रशान्त पन्तले नेपाली प्रविधिमा ऐतिहासिक सफलता हासिल गरेका छन्। उनले निर्माण गरेको देवनागरी लिपिको भेरिएबल फन्ट ‘मातंगी’ अन्तर्राष्ट्रिय प्लेटफर्म गुगल फन्ट्समा सूचीकृत हुने नेपालकै पहिलो फन्ट बनेको छ। सार्वजनिक भएको केवल तीन दिनमै यो फन्ट पाँच लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ।

अमरगढी नगरपालिका–२ सेराका पन्तले ३ वर्ष लगाएर गाउँमै बसी बनाएको ‘मातंगी’ फन्ट सामान्य फन्टभन्दा विशेष छ। यो नेपालबाट गुगलमा सूचीकृत हुने पहिलो ‘भेरिएबल फन्ट’ हो, जसको एउटै फाइलभित्र पातलो, मोटो, छड्के जस्ता अनेकौं स्टाइलहरू समावेश हुन्छन्। यसले नेपाली, संस्कृत, मराठीसहित ४०० भन्दा बढी भाषाहरूलाई समर्थन गर्छ र यसका लागि उनले करिब १,७०० क्यारेक्टर डिजाइन गरेका थिए।

गाउँमै बसेर विश्वस्तरीय काम गर्नु पन्तका लागि सहज थिएन। “काम नगरी घरमै बसेको भनेर समाज र आफन्तले कुरा काट्थे,” उनी आफ्नो अनुभव सुनाउँछन्, “तर बुबाआमाको साथले कहिल्यै हिम्मत हारिनँ।” गुगल फन्ट्सका कडा मापदण्डहरू पूरा गर्न लामो समय लागे पनि अन्ततः उनको मेहनत सफल भयो।

भारतमा बनेका फन्टमा निर्भर हुनुपर्ने अवस्थामा नेपालबाटै यस्तो सफलता मिल्दा उनी दंग छन्। “वेबसाइट र अनलाइनहरूमा देखिने फन्ट र हिज्जेका त्रुटिहरू हटाउन यो फन्ट सबैलाई निःशुल्क उपलब्ध गराएको हुँ,” पन्त भन्छन्। हिन्दु देवी ‘मातंगी’को नामबाट प्रेरित यो फन्ट ओपन फन्ट लाइसेन्स अन्तर्गत उपलब्ध छ, जसलाई सरकारी कार्यालयदेखि निजी क्षेत्रसम्म सबैले निःशुल्क प्रयोग गर्न सक्छन्।

यो सफलताले डडेल्धुरालाई मात्र नभई सम्पूर्ण नेपाललाई गौरवान्वित बनाएको छ। पन्तको लक्ष्य नेपालका अन्य फन्टहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु हो। उनी भन्छन्, “यो सफलता सुदूरपश्चिमबाट पनि विश्वस्तरीय काम गर्न सकिन्छ भन्ने एउटा प्रमाण हो।”

प्रतिकृया दिनुहोस्