×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडाैंमा थुप्रिएका सबै फोहोर एक साताभित्र उठाइसक्न बालेनको निर्देशन

काठमाडाैंमा थुप्रिएका सबै फोहोर एक साताभित्र उठाइसक्न बालेनको निर्देशन

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले उपत्यकाको फोहोर व्यवस्थापनमा सहभागी निजी कम्पनीलाई आगामी एक साताभित्र सबै फोहोरको व्यवस्थापन गरिसक्न निर्देशन दिएका छन् । काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

फोहोर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ । हाल महानगरले फोहोर व्यवस्थापन तथा विसर्जनको काम गरिरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहोर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहोर बञ्चरेडाँडा लगिसक्न निर्देशन दिएका हुन् ।

उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहोर उठाउँदै आएका छन् । फोहोर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहोर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत प्रमुख बालेनले दिएका छन् । कामपा एक्लैले व्यवस्थापन गर्दै आएका स्थानमा गत मङ्गलबारदेखि नियमितरुपमा उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालेसँगै कलङ्की, कालीमाटी, बल्खु, टेकुलगायतका स्थानको फोहोरको अन्तिम व्यवस्थापनको काम सकिएको छ भने सडक सफा भएका छन् । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर गत साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहोर व्यवस्थापन कार्य हुन थालेको हो ।

प्रतिकृया दिनुहोस्