काठमाडौँ- नेपाली कांग्रेसले बागीलाई कारबाहीबाट बच्न मौका दिएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै बागीलाई कारबाहीबाट बच्न मौका दिएका हुन् ।
तीन दिनभित्र उम्मेदवार नरहेको घोषणा गरे बागीलाई कारबाही नगर्ने विज्ञप्तिमा उल्लेख छ । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धनका तर्फबाट उठाइएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएकालाई कांग्रेसले यस्तो मौका दिएको हो ।
यस्तो अवसर सदुपयोग गरे बागीका प्रस्तावक र समर्थकमाथिको कारबाही पनि रोकिने कांग्रेसले जनाएको छ । मुख्यसचिव पौडेलले २१ वैशाखभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्न निर्देशन दिएका छन् ।
‘वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक पुनर्विचार गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।