×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिमले जित्यो यू–१९ क्रिकेटको उपाधि

सुदूरपश्चिमले जित्यो यू–१९ क्रिकेटको उपाधि

काठमाडौं- यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जितेको छ । सोमबार भएको फाइनलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।

जितसँगै सुदूरपश्चिमले २ लाख रुपैयाँ पुरस्कार हात पारेको छ । त्यस्तै, उपविजेता लुम्बिनीले १ लाख रुपैयाँमा चित्त बुझायो । फाइनलमा लुम्बिनीले दिएको ९३ रनको झिनो लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि गजेन्द्र बोहराले अविजित ३९, दिपक बोहराले २५ र कप्तान अनुराग सिंहले २२ रन बनाए । मिलन बोहरा ६ र दीपक बोहरा भने शून्यमै आउट भए । लुम्बिनीका लागि रमेश कुर्मीले दुई, अभिषेक गौतम र निर्मल गुरुङले एक/एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २९.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । उसका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए । त्यस्तै, नर सार्कीले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

लुम्बिनीलाई ९२ रनमै अलआउट गर्ने क्रममा सुदूरपश्चिमका मिलन बोहराले ९ ओभरमा १५ रन दिँदै ५ विकेट लिए । त्यस्तै, हेमन्त धामी, नरेन साउँदले दुई/दुई र आकाश चन्दले एक विकेट हात पारे । सुदूरपश्चिमले अपराजित रहँदै उपाधि जित्न सफल भएको हो । 

यसपालि प्रतियोगितामा प्रदेश–१, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्