काठमाडाैँ- सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गरेका थिए ।
प्रस्तुत बजेट वक्तव्यमाथि छलफल गर्न आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको छ ।
पहिलो एजेण्डामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । दोस्रो एजेण्डामा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
बजेटमाथिको छलफल तीन दिनसम्म चल्ने सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको दोस्रो बैठकमा जानकारी गराएका थिए । छलफलमा दलीय आधारमा भाग दिन संसदीय दलले एक घण्टा नाम टिपाउन सापकोटाले सूचित गरेका थिए ।
प्रतिपक्षीले भण्डाफोर गर्ने
यसैबीच प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो ।
सरकारले २५ वर्षमा पूरा नहुने योजना ल्याएको र यसले बजेटको जबाफदेहितामा पनि प्रश्न उठ्ने ठहर गरेको छ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए ।
ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्नेगरी प्रस्तुत हुन निर्देशन दिएको भट्टराईले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् । बैठकमा पार्टीका पूर्व अर्थमन्त्रीहरू, विज्ञ, योजना आयोगका उपाध्यक्षलगायतको सहभागिता थियो ।