×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अमेरिकामा बाढी र आँधी : ४० भन्दा धेरैको मृत्यु

अमेरिकामा बाढी र आँधी : ४० भन्दा धेरैको मृत्यु

काठमाडाैँ-  देशको पूर्वोत्तर भाग अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति “ऐतिहासिक लगानी” आवश्यक पर्ने बताएका छन् ।

उनले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको जीवन वा मरणको सवाल भएको बताएका छन् । न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा देखिएको छ । केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन्  । समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो ।

चार राज्यमा भएको मानवीय क्षति:-

  • न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा कम्तीमा २३ जनाको निधन भएको बताएका छन् । त्यसमध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए ।
  • न्यूयोर्क सहरमा कम्तीमा १४ जनाको ज्यान गएको  छ। त्यसमा एकजना दुई वर्षका बालक पनि छन् । मारिनेमा ११ जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेका थिए ।
  • पेन्सलभेनियाको फिलडेल्फिया नजिकै तीनजना र कनेटिकटमा एकजनाको निधन भएको छ ।

समुद्री आँधीको आवृत्ति र त्यसमा जलवायु परिवर्तनको असर कति पर्छ भन्नेबारे अझै स्पष्ट छैन । तर के चाहिँ निश्चित छ भने समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताउँछ र तुफान, चक्रवात र समुद्री हुरी अर्थात् टाइफून उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्छ ।

त्यस्तो अवस्थामा त्यस्ता प्रवृत्तिहरू धेरै विनाशकारी हुने र चरम वर्षा गराउने सम्भावना रहन्छ । औद्योगिक युग सुरु भएयता विश्वमा ‍औसत १.२ डिग्री सेल्सिअस तापक्रम वृद्धि भइसकेको छ । उत्सर्जन कटौतीमा विश्वभरिका सरकारहरूले काम नगरे यो क्रम निरन्तर रहने देखिन्छ ।

न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले मौसम विज्ञहरूको आलोचना गर्दै उनीहरूको पूर्वानुमान केही मिनेट भित्रै नराम्ररी गलत साबित भएको बताए । उनले मौसमविद्हरूले एक दिनमा ३ देखि ६ इन्चसम्म पानी पर्छ भनेकोमा सेन्ट्रल पार्कमा एक घण्टामै ३.१५ इन्च पानी परेको बताए । न्यूयोर्ककी गभर्नरले पनि त्यहाँ नायग्रा फल्स झरनानै खसेको जसरी पानी परेको बताएकी छन् ।

त्यहाँका बासिन्दाहरूले आफ्नो क्षतिको विवरण लिइरहेका छन् । न्यूयोर्कका सडकहरूमा पानी भरिएको छ भने धेरैतिर रेलसेवा अवरूद्ध छ । कैयौँ उडानहरू रद्द भएका छन् । -बीबीसी

 

प्रतिकृया दिनुहोस्