काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि खेलाडी रिटेन (कायम) र रिलिज (फुकुवा) गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै लुम्बिनीले कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेललाई टोलीमै कायम राखेको जानकारी दिएको हो।
कप्तान पौडेलसहित लुम्बिनीले कूल ६ खेलाडीलाई रिटेन गरेको छ, जसमा विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतम रहेका छन्।
यसैगरी, गत सिजन टोलीमा रहेका ६ खेलाडीलाई फुकुवा (रिलिज) गरिएको छ। जसमा सूर्य तामाङ, आशुतोष घिरैया, अर्जुन साउद, विकास आग्री, आरिफ खान र दुर्गेश गुप्ता छन्।
लुम्बिनीले उत्कृष्ट युवा तथा विदेशी खेलाडीहरू समावेश गरी टोलीलाई हरेक पक्षबाट बलियो बनाउने लक्ष्य राखेको जनाएको छ। दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै समर्थकहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धता पनि टोलीले व्यक्त गरेको छ।
एनपिएलका लागि यसअघि सुदूरपश्चिम रोयल्स र चितवन टाइगर्सले पनि आफ्ना रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गरिसकेका छन्।