बृहत् नागरिक आन्दोलनले आइतबार सिंहदरबारमा धर्ना दिने भएका छन् । धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध बृहत् नागरिक आन्दोलनले आइतबार सिंहदरबार अगाडि धर्ना दिन लागेका हुन् ।
आन्दोलनको चौथो सात चलिरहँदासमेत सरकारले वार्ताका लागि पहल नगरेको भन्दै सिंहदरबारमा धर्ना दिन लागिएको बृहत्त नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार बिहान ११ बजे बृहत्त नागरिक आन्दोलनका अगुवाहरू सिंहदरबार आगडि धर्नामा बस्ने छन् ।
‘धरानमा आन्दोलन चौथो सातामा चलिरहँदा सरकारले वार्ताको पहलसमेत गरेको छैन । तर, सरकार मौन र निष्क्रिय भने छैन । सरकार भ्रष्टाचारीहरूको संरक्षणमा व्यस्त छ । यसका लागि अख्तियारदेखि अदालतसम्म प्रभावित गर्ने दाउपेचमा छ ।
निजी अस्पतालका व्यापारिक स्वार्थलाई नीतिगत रूपमा सघाउने उपायको खोजीमा व्यस्त छ । महाव्याधिले समेत सरकारलाई संवेदनशील बनाउन सकेन । बरू, जनताको जीवनरक्षा र गुणस्तरीय व्यवस्थाका लागि जनस्वास्थ्यलाई आधार बनाउने, समुदाय केन्द्रित स्वास्थ्यलाई बलियो बनाउने र सार्वजनिक स्वास्थ्य संस्थाहरूले त्यसमा नेतृत्वदायी भूमिका खेल्ने प्रत्येक कार्यलाई कमजोर बनाउन सरकार लागि परेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिष्ठानका विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकको पेचिलो आन्दोलनमा चौतर्फी नागरिक आवाज र व्यवस्थित प्रतिरोध नहुँदा अपेक्षित नतिजा नआउने भएकाले सार्वजनिक संस्थाको बर्बादीविरुद्ध संघर्षमा जुट्न बृहत् नागरिक आन्दोलनले अपिल गरेको छ ।