×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नागपञ्चमी आज: परम्परा, विश्वास र रोचक कथाहरूको सङ्गम

नागपञ्चमी आज: परम्परा, विश्वास र रोचक कथाहरूको सङ्गम

काठमाडौँ - आज श्रावण शुक्ल पञ्चमी, अर्थात् नागपञ्चमी पर्व । हिन्दू धर्मावलम्बीहरूले आज घरको मूलढोकामा नागको तस्बिर टाँसेर, पूजाअर्चना गरी यो पर्व मनाउँदैछन् । यसरी नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प, बिच्छीजस्ता जीवजन्तुको भय नहुने तथा अग्नि, चट्याङ र अतिवृष्टिबाट समेत सुरक्षा मिल्ने गहिरो धार्मिक विश्वास रहिआएको छ ।

वैदिक सनातन धर्ममा नागलाई देवताकै रूपमा पुजिन्छ । नाग रिसाए पानीको अभाव हुन्छ भन्ने मान्यतादेखि घरको जगमुनि रहने नागलाई प्रसन्न पार्नुपर्छ भन्नेसम्मका विश्वासहरू प्रचलित छन् । भगवान् शिवको गलाको मालादेखि भगवान् विष्णुको शेषनागको शय्यासम्म, नागको उपस्थिति शक्ति र संरक्षणको प्रतीक बनेको छ । गणेशको हात, लक्ष्मण र बलरामको अवतार तथा बुद्धको शिरमा समेत नागको आकृतिले यसको धार्मिक महत्त्वलाई अझ फराकिलो बनाएको छ ।

नागपञ्चमीको प्रचलनबारे एउटा रोचक किंवदन्ती छ । खेत खन्दा एक किसानले नागका बच्चाहरू मारेपछि क्रोधित नागिनीले किसानको पूरै परिवारलाई डसेर मारिदिइन् । तर, संयोगले बाँचेकी छोरीले नागिनीलाई दूध र लावा चढाएर भक्तिभावले पूजा गरिन् । उनको भक्तिबाट प्रसन्न भएकी नागिनीले उनको मृत परिवारलाई पुनर्जीवन दिइन् । यही शुभ दिनको सम्झनामा नागपूजा गर्ने परम्परा बसेको मानिन्छ ।

यसैगरी, काठमाडौं उपत्यकामा पानीको खडेरीसँग पनि नागपञ्चमीको सम्बन्ध जोडिएको छ । गुरु गोरखनाथले नौ नागको आसनमा बसेर तपस्या गर्दा पानी नपरेपछि उनका गुरु मत्स्येन्द्रनाथलाई बोलाइएको थियो । गुरुलाई देख्नासाथ गोरखनाथ उठेपछि नागहरू मुक्त भई घनघोर वर्षा गराएको प्रसङ्ग पनि चर्चित छ ।

आजको दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कूलका नागहरूको विशेष पूजा गरिन्छ । काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह र कुण्डहरूमा गाईको दूध, दुबो, अक्षता, खीर र रोटी चढाएर नाग देवताको सम्मान गर्ने गरिन्छ । वैज्ञानिक दृष्टिले पनि नागलाई प्रकृतिको संरक्षक मानिन्छ, जसले विषालु पदार्थ सोसेर पर्यावरणलाई सन्तुलित राख्न मद्दत गर्छ । यही पर्वसँगै नेपाली हिन्दूहरूका लागि चाडपर्वको लहर नै सुरु भएको मानिन्छ ।
 

प्रतिकृया दिनुहोस्