×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अन्य ग्रहमा पनि जीवन!!एलियन सम्पर्क :

अन्य ग्रहमा पनि जीवन!!एलियन सम्पर्क :

काठमाडौं- चलनचल्तीका फिल्म तथा अन्य प्रस्तुतिमा काल्पनिक एलियन वा एक्स्ट्रा टेरेस्ट्रियलहरूलाई दोस्रो दर्जाका नागरिक वा मानवभन्दा तल्लो श्रेणीमा रहेको देखाइन्छ।

इटि फिल्ममा उसको मानिस साथीले हस्तक्षेप नगरेको भए एलियनलाई शल्यक्रिया कक्षमा काटिन्थ्यो। सन् २००९ को फिल्म डिस्ट्रिक्ट ९ मा दशौँ लाख 'एलियन प्रोन' हरूलाई दक्षिण अफ्रिकाको झुपडवस्तीमा कोचाकोच गरेर राखिन्छ - मानिसको क्रुरता त्यसमा देखिन्छ।

पृ्थ्वीभन्दा बाहिर एलियन जीवनको प्रमाण हालसम्म फेला परेको छैन। तर त्यसको खोजी एकदमै जारी छ। निकट भविष्यमा त्यस्तो प्रमाण भेटिएपनि अधिक सम्भावना के छ भने त्यस्तो जीवन फिल्म वा टिभीमा देखाइने मानिसजस्तै लाग्ने प्राणीभन्दा मङ्गलग्रहमा कुनै साना जीवाणु कुनै समयमा अस्तित्वमा रहेका चिन्ह जस्ता हुनसक्छन्।

तर ड्रेक इक्वेसनका अनुसार, तथ्याङ्कशास्त्रीय रूपमा कुरा गर्दा, बाहिर अन्तरिक्षमा कतै बुद्धिमान प्राणी हुनसक्ने सम्भावना छ।

"अन्य जीवन भेटिनु र तीसँग सम्पर्क हुनु भनेको त्यसो भएकै दिन नआएसम्म निकै कठिन कुरा हो," यूकेस्थित ओपन युनिभर्सिटीका अन्तरिक्ष विज्ञानका एमेरिटस प्रोफेसर जोन जार्नेकीले भने।

"त्यसले मलाई एक्जोप्लानेटहरूबारे स्मरण गराउँछ: एक युवा अनुसन्धानकर्ताका रूपमा त्यो हामीले निकै बहस गर्ने विषय थियो। हामी सबैलाई लाग्थ्यो एक्जोप्लानेटहरू होलान् तर तिनको अस्तित्वको प्रमाण भेट्न प्राविधिक रूपमा कठिन थियो।"

तर अहिले हामीलाई थाहा छ एक्जोप्लानेटहरू (सौर्यमण्डलभन्दा बाहिरका ग्रह) छन् र तीमध्ये कतिपयमा त पानी समेत रहेकाले त्यहाँ जीवन हुनसक्ने पनि ठानिएको छ।

मानवजातिले एलियन भेटेमा तिनीहरूसँग राम्रो व्यवहार गर्लान् भन्नेमा लेखकहरू आशावादी पाइँदैनन्।

शायद यस ग्रहकै मानिस वा अन्य प्राणीहरूलाई अधिकार दिने विषयको इतिहास त्यसको कारण हुनसक्छ। त्यस्ता अधिकार रक्षाका निम्ति कैयन् अन्तर्राष्ट्रिय सन्धिसम्झौता भए पनि तिनको कार्यान्वयन फितलो छ।

कसैले हरण गर्न नसक्ने विश्वव्यापी अधिकार - सबै मानिसका निम्ति ग्यारेन्टी गरिएको अधिकार - लाई अन्तर्राष्ट्रिय समुदायले द्वितीय विश्वयुद्धको त्रासदीपश्चात् सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्रको रूपमा लिपिबद्ध गरेको थियो।

तर ती अधिकार लागु गराउने क्षमता अझै सीमित छ।

त्यसले पनि यदि मानिसले एलियन भेटे कस्तो व्यवहार गर्ला भन्ने एउटा छनक दिन्छ। हालैका वर्षहरूमा मात्र पशुहरूको अधिकारको विषय उठ्न थालेका छन्।

एलियनको विषयमा यस्ता खुला अन्तर्राष्ट्रिय छलफल हुनै बाँकी छन्।

लण्डन स्कूल अफ इकोनोमिक्सकी बाह्य अन्तरिक्षसम्बन्धी कानुनकी विज्ञ जिल स्टुआर्ट ठान्छिन् हाम्रो जीवनकालमा मानिसहरूको एलियनसँग भेट हुनेछैन। तर पनि त्यस्तो भेट भइहाले के गर्ने भन्ने बारे कुराकानी थाल्नु उचित हुने उनले बताइन्।

"त्यस्ता भविष्यकेन्द्रीत घटना शायद कहिल्यै नहोलान्। तर पनि यो समग्र प्रक्रियाको आफ्नै महत्त्व छ।"

हराएको योजना

बुद्धिमान एलियनसँग जम्काभेट भए मानवले कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे अहिले कुनै अन्तर्राष्ट्रिय सहमति वा संयन्त्र नभएको राष्ट्रसङ्घको बाह्य अन्तरिक्ष मामिला सम्बन्धी कार्यालय (युनुसा)का कार्यकारी निर्देशक निक्लास हेडम्यानले भने।

अन्तरिक्षमा अस्त्र निषेधदेखि हानि तथा फोहरजस्ता विषयका दायित्वबारे करिब पाँचवटा अन्तरिक्ष सन्धि छन्। तर ती सबैले मानिसले अन्तरिक्षमा गर्ने कार्यलाई नियमसङ्गत पार्ने उद्देश्य राखेका छन्।

इन्टर्न्याशनल एकेडेमी अफ एस्ट्रोनटिक्सको सर्च फर एक्स्ट्रा टेरेस्ट्रियल इन्टेलिजेन्स समूहले सन् २०१० मा त्यससम्बन्धी एक प्रारुप बनाएको थियो। बुद्धिमान एलियन जीवनबारे जानकारी पाइएमा के गर्ने भन्ने उल्लेख भएको सो प्रारुपले त्यसो भए राष्ट्रसङ्घ तथा उसको बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोगसम्बन्धी समिति (कोपुअस)मार्फत् अन्तर्राष्ट्रिय संयोजन गर्न सिफारिस गरेको छ।

तर आवश्यक नपरीकन कुनै व्यापकरूपमा स्वीकार्य अन्तर्राष्ट्रिय प्रारुप बन्ला भन्ने स्टुआर्टलाई लाग्दैन।

एउटा निर्धारक तत्व भनको एलियनहरूको नियत वा मनसाय पनि हुनेछ: छोटकरीमा भन्दा, उनीहरू मित्रवत् प्रस्तुत हुन्छन् वा आक्रामक।

उसोभए कुनै बेला 'उडन तश्तरी' पृथ्वीमा उत्रियो भने के हुन्छ? त्यसका निम्ति कुनै प्रोटोकल सिफारिस भएको छैन। तर स्टुआर्ट भन्छिन् जुन देशको सीमाभित्र ती आइपुग्छन् उसैले अब के गर्ने भनेर प्रारम्भिक छलफल गर्ला।

स्थापित मापदण्डको अभावमा तिनलाई पनि मानव अधिकार प्रदान गर्ने एउटा तरिका हुनसक्छ।

पृथ्वीसम्म आइपुग्ने कुनै प्रजाति पक्कै उच्चस्तरको बुद्धियुक्त एवं संवेदनायुक्त हुने ठान्न सकिन्छ र त्यसैले मानव सरह अधिकार दिइनु उचित हुन्छ।

कुनै प्राणीमा संवेदना छ कि छैन भन्ने बारे पृथ्वीभित्रै पनि बहस चलिरहेका छन्। उदाहरणका लागि बुद्धिका निम्ति चर्चित अक्टोपसमा संवेदना पनि हुन्छ अनि त्यसले पीडा पनि अनुभूत गर्न सक्छ भन्ने बहस जारी छ।

"एलियनको सन्दर्भमा कुरा गर्दा हामीले सोध्नु पर्छ: उनीहरू कस्तो किसिमका बुद्धिमान हुन्?" यूकेको प्लिमथ युनिभर्सिटीकी भिजिटिङ प्रोफेसर एवं लेखक सुजन ब्ल्याकमोरले भनिन्।

 

प्रतिकृया दिनुहोस्