काठमाडौं - एएफसी वुमन्स एसिया कप २०२६ मा स्थान बनाउने सपनासहित नेपाली राष्ट्रिय महिला फुटबल टोली आज (शनिबार) बलियो घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ। तास्केन्तमा नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुने यो खेल नेपालका लागि 'गर या मर' को अवस्थामा छ, किनकि विजेता टोलीले सिधै एसियन कपमा स्थान बनाउनेछ।
साबित्रा भण्डारी 'साम्बा'को कप्तानीमा रहेको नेपाली टोली प्रतियोगितामा उत्कृष्ट लयमा छ। अघिल्ला दुई खेलमा लाओसलाई ९-० र श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले आफ्नो आक्रामक क्षमता प्रदर्शन गरिसकेको छ।
उता, उज्वेकिस्तान पनि त्यति नै बलियो देखिएको छ। उसले पनि दुवै खेल जित्दै नेपालजस्तै ६ अंक जोडेको छ। दुवै टोलीले समान १७ गोल गरेका छन् र कुनै गोल खाएका छैनन्। सम्पूर्ण तथ्याङ्क बराबर भएकाले आजको खेल बराबरीमा सकिएमा निर्णय सिधै पेनाल्टी सुटआउटबाट हुनेछ, जसले खेललाई थप रोमाञ्चक बनाएको छ।
फिफा वरीयतामा ५१औं स्थानमा रहेको उज्वेकिस्तानविरुद्ध १००औं वरीयताको नेपाललाई जित निकाल्न सहज भने छैन। तर, टोलीको वर्तमान फर्मले इतिहास रच्ने बलियो सम्भावना देखाएको छ।