दुलेगौँडा- तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१० शिसुवा स्थायी घर भई हाल शुक्लागण्डकी- ४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मनबहादुर नेपालीको मृत्यु भएको हो ।
बुधबार बेलुका करिब ९:३० बजे मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमती शुशिला वि.कले श्रीमान् मनबहादुरको टाउकोमा ढुङ्गाले हान्दा गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई बेलचौतरास्थित जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको थियो । उनको उपचारको क्रममा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनामा संलग्न श्रीमती शुशिला वि.कलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।