काठमाडौं- सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ र चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गर्दा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आज भएको खेलमा थ्रीस्टारमाथि २–० को जित निकाल्दै एपिएफ विजयी भएको हो। एपिएफको जितमा मणिकुमार लामा र अर्माण्ट बिनोङले गोल गरे। च्यासल खेल मैदानमा आजै भएको अर्को खेलमा नेपाल पुलिसलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो।
१४ औं मिनेटमा रविशंकर पासवानको गोलबाट पुलिसले अग्रता लिए पनि नव प्रवेशी चर्च ब्वाइज युनाइटेडले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
चर्च ब्वाइजका आशिष चौधरी र फ्रान्कलिन कोटे टालाले गोल गरे। आजै भएको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।
खेलको १४ औँ मिनेटमा मनाङका रोशन राना मगरले गोल गर्दै अग्रता दिलाए पनि जित दिलाउन सकेनन्। खेलको ८५ औँ मिनेटमा सुरेश कुमालले हिमालयन शेर्पाका लागी बराबरी गोल फर्काए।
लिगको विजेताले ७५ लाख पाउनेछ भने उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।