काठमाडौँ- सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले काठमाडौँ महानगरपालिका-१३ स्थित कालीमाटी तरकारी बजारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय कपिङ्गल बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर केएमसीले नारायणी कम्प्लेक्स कालीमाटी तरकारी बजारमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा ९ सय ६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार २०३ बिरामीको रक्त परीक्षण, १९७ बिरामीको भिडियो एक्स-रे र १६४ जनाको ईसीजी गरिएको छ । त्यस्तै २९ जना बिरामीको दाँत निकालिएको छ । शिविरमा उपचार सम्भव नभएका ६३ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको छ ।
शिविरमा केएमसीको जेनेरल मेडिसिन, प्रसूति तथा स्त्री रोग, बाल रोग, हाडजोनी तथा नसा रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग लगायत विभागका विशेषज्ञ डाक्टरहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि विभिन्न जिल्लामा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।