×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भारतको उत्तराखण्डमा भीषण बाढी, खीरगंगा गाउँ बगाउँदा ४ को मृत्यु, ५० बेपत्ता

भारतको उत्तराखण्डमा भीषण बाढी, खीरगंगा गाउँ बगाउँदा ४ को मृत्यु, ५० बेपत्ता

एजेन्सी - भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लामा भीषण बाढीले एउटा सिंगो गाउँ बगाएको छ। जिल्लाको धराली क्षेत्रमा रहेको खीरगंगा गाउँ मंगलबार दिउँसो भीषण वर्षासँगै आएको बाढी र पहिरोले बगाएको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, घटनामा परी कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० जनाभन्दा बढी मानिस बेपत्ता भएका छन्। बाढीले गाउँका दर्जनौं घर, होटल र पसलहरू बगाउँदा ठूलो भौतिक क्षति भएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा पानी र लेदोको विशाल भेलले पूरै बस्तीलाई बगाइरहेको डरलाग्दो दृश्य देखिन्छ। पछिल्ला दुई दिनदेखि यस क्षेत्रमा भइरहेको अविरल र भारी वर्षाका कारण बाढी र पहिरो गएको स्थानीय प्रशासनले जनाएको छ।

घटनालगत्तै सुरक्षाकर्मी र राष्ट्रिय विपद् प्रतिकार्य बल (NDRF) सहितको उद्धार टोली घटनास्थलमा खटिएको छ र बेपत्ताहरूको खोजी कार्य जारी राखेको छ। बाढी प्रभावित क्षेत्र प्रसिद्ध तीर्थस्थल गंगोत्री धामबाट केवल १० किलोमिटरको दूरीमा पर्दछ। घटनापछि स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्।

प्रतिकृया दिनुहोस्