काठमाडाैँ- सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएकोबारे भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार छिमेकी मुलुक भारतलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाइएको हो । यसअघि भारतीय विदेश मन्त्रालयले दार्चुला घटनाबारे औपचारिक जानकारी नआएको बताएको थियो । सरकारले यसबारे भारतसँग कुराकानी भइरहेको बताउँदै आएको थियो ।
गत १५ साउनमा महाकाली नदी तर्ने क्रममा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । सो घटनामा भारतीय सशस्त्र सुरक्षा (एसएसबी)को संलग्नता रहेको सरकारी छानबिन समितिको प्रतिवेदनमा पनि उल्लेख छ । समितिले प्रतिवेदनमा कूटनीतिक तबरबाट यो विषय सुल्झाउन सरकारलाई सुझाव दिएको थियो । यद्यपि, भारतले सो घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको थियो । पछिल्ला दिनमा नेपाली सेनाका ब्यारेक आसपास भारतले अनाधिकृत रुपमा हेलिकोप्टर उडाएको विषयमा पनि सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको हो ।