काठमाडौं - भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको रहस्यमय मृत्युपछि काठमाडौंस्थित पद्मकन्या क्याम्पसका विद्यार्थीहरू आज न्यायको माग गर्दै आज प्रदर्शन गरेका छन्। स्ववियु (विद्यार्थी युनियन)को नेतृत्वमा सम्पन्न प्रदर्शनमा विद्यार्थीहरूले कालो मास्क लगाएर 'विद्यार्थी छोरीको न्याय सुनिश्चित गर', 'हामीलाई न्याय चाहियो' जस्ता नाराहरू बोकेका थिए। स्ववियुकी सभापति भूपी ऐरले यो प्रदर्शन घटनामा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको बताइन्।
पर्सा जिल्लाको वीरगञ्ज निवासी प्रिशा साह गत विहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ भने परिवारका सदस्यहरू भारत पुगिसकेका छन्। यसैबीच, परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रिशाको मृत्युले मर्माहत भएको बताउँदै घटनाको छानबिनका लागि कूटनीतिक पहल सुरु गरिसकेको जानकारी दिनुभएको छ।
विद्यार्थीहरूले घटनाको पूर्ण अनुसन्धान गरी दोषीहरू विरुद्ध कडा कारबाही गर्न सरकार र सम्बन्धित निकायहरूसमक्ष जोडदार माग गरेका छन्।