काठमाडौँ- पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आफ्नो जारी पूँजी ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।
उक्त आइपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका ,तत्कालिन ढोढेनी र फलेनी गा।वि।स। का वडा नं ६ र ७ का स्थानिय बासिन्दाहरूका लागि ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि २२ लाख ४० हजार कित्ता सेयर बाँडफाँट गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आज वैकिङ समयसम्म आवेदन दिने सक्नेछन् ।
आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले उक्त आइपीओमा ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्टर, एनएमबि बैंकको भोटेओडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाटसमेत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।