×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित हुने

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित हुने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् ।

प्रधानमन्त्री ओलीले स्पेनको औपचारिक भ्रमणका क्रममा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि चित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालका अनुसार प्रधानमन्त्रीको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ र त्यहाँस्थित नेपाली समुदाय स्वागतका लागि उत्साहित छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना स्पेनिस समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सो अवसरमा नेपाल र स्पेनबीच सहयोग र सम्बन्ध विस्तारका विषयमा महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। यसका साथै, प्रधानमन्त्रीले स्पेनमा रहेका नेपाली समुदाय र स्पेनी उद्योगी–व्यवसायीसँग पनि अन्तरक्रिया गर्ने दूतावासले जनाएको छ।

नेपाल–स्पेन सम्बन्ध र भ्रमणको महत्त्व

नेपाल र स्पेनबीच १३ मे १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्र स्पेनको म्याड्रिडमा नेपालको आवासीय राजदूतावास खोलिएको हो। नेपालका लागि स्पेनको नयाँ दिल्लीस्थित दूतावासले हेर्दै आएको छ।

दुई देशबीच विगतदेखि नै उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा र स्पेनका राजा कार्लोसले सन् १९८७ मा एकअर्काको देशको राजकीय भ्रमण गरेका थिए। त्यसैगरी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री गोकुल बाँस्कोटा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि विभिन्न समयमा स्पेनको भ्रमण गरिसकेका छन्।

हाल स्पेनमा करिब २० हजार नेपाली विभिन्न पेसा र व्यवसायमा संलग्न रहेको अनुमान छ, जो विशेषगरी कृषि, होटल, पर्यटन र निर्माण क्षेत्रमा कार्यरत छन्। वैदेशिक रोजगारीका लागि स्पेन नेपालीका लागि नयाँ गन्तव्य बन्दै गएको छ।

स्पेन आफैँमा विश्वको एक प्रमुख पर्यटकीय गन्तव्य हो, जहाँ वार्षिक सवा करोडभन्दा बढी पर्यटक पुग्छन्। सन् २०१८ मा १९ हजारभन्दा बढी स्पेनी पर्यटक नेपाल आएकोमा कोभिड–१९ पछि सो सङ्ख्यामा केही कमी आएको छ।

नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र आध्यात्मिक चिन्तनले स्पेनी पर्यटकलाई आकर्षित गर्ने प्रचुर सम्भावना छ। प्रधानमन्त्रीको यो उच्चस्तरीय भ्रमणले नेपाल र स्पेनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै स्पेनलगायत युरोपेली मुलुकमा नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्