काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ४ मंसिरमा हुने निर्वाचन जनयुद्धका उपलब्धि उल्ट्याउन खोज्नेहरुसँगको लडाइँ भएकाले सामान्य रुपमा लिन नहुने बताएका हुन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘मंसिर ४ गते दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदैछ । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन् । हामीले सामान्य निर्वाचनको रुपमा लिनु हुँदैन ।’
अध्यक्ष प्रचण्डले गठबन्धन र पार्टीका नेता–कार्यकर्तालाई आआफ्नो ठाउँबाट जनमत बनाउन लाग्न निर्देशनसमेत दिए । जनयुद्धका उपलब्धि रक्षा गर्न अहिलेको निर्वाचन आफूहरुले जित्नैपर्ने उनको भनाइ छ । अहिले पनि माओवादीका बारेमा घेराबन्दी गरेर भ्रम छर्ने प्रयास भइरहेकाले त्यसको प्रतिवाद गर्नसमेत प्रचण्डले निर्देशन दिए ।