काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आज पुनः एकपटक 'हेर्न नमिल्ने' सूचीमा परेको छ। उक्त रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेस भएको थियो। यद्यपि, के कारणले हेर्न नमिल्नेमा परेको हो भन्ने खुलाइएको छैन।
यसअघि आइतबार, न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले उक्त रिटलाई सुनुवाइ गर्न मिल्ने (उपयुक्त) इजलासमा पेस गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको थियो। सोही आदेशअनुसार आज प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेको इजलासमा पेसी तोकिएको थियो।
यो रिट लामिछानेकी श्रीमती निकिता पौडेलले गत वैशाख ७ गते दायर गरेकी थिइन्।