काठमाडौँ- काठमाडौंको मूलपानीमा रहेको द भेलोसिटी स्कुलले आयोजना गरेको गाईजात्रा विशेष कार्यक्रम विभिन्न प्रस्तुतिका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नायिका रेखा थापा उपस्थित भएकी थिइन् । रेखाले साना नानीहरूलाई इंकित गर्दै आफू स्कुल पढ्दाको बाल्यकालका दिनहरु स्मरण गराएकी थिइन् ।
उनले कार्यक्रममा बोल्दै पुरानो नेताहरूको रजाइँले देशले कोल्टे फेर्न नसकेको भन्दै अबको चुनावमा पुरानो नेताहरुलाई दोहोर्याउन नहुने बताइन् । साथै उनले कार्यक्रमप्रति शुभकामना दिँदै स्कुलको १२ कक्षासम्म सञ्चालन भएपछि फेरि आउने बताइन् ।
कार्यक्रममा रेखाका अलावा चर्चित हाँस्यकलाकार घनश्याम गौतम र सुरेश तिमल्सिनाले प्रचण्ड र के।पी। ओलीको क्यारिकेचर गरेर राजनितिक व्यङ्ग्यमार्फत् दर्शकहरुलाई मनोरञ्जन दिलाए । नेताहरुको कुर्सीको लडाइँले जनताहरुले दुस्ख पाएकोले अबको चुनावमा भोट हाल्दा विचार गरेर हाल्नुपर्ने सन्देश भएको गाइजात्रे नाटकमा कलाकार सानू घायल, सरिता राजोपाध्याय, अनिल गुरुङ, दीपक दुलालले साथ दिएका थिए ।
कार्यक्रम सुरु हुनुअघि बाजागाजा सहित लाखे नाच र विद्यार्थीहरुलाई विभिन्न भेषभुषामा विद्यालय परिसर परिक्रमा गराइएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्याब्सन काठमाडौंका सदस्य महेन्द्रराज घिमिरेले गाईजात्राको महत्त्व र उत्पत्तिबारे स्पष्ट पारेका थिए ।
कार्यक्रममा साहित्यकार डम्बर घिमिरे, कवि पशुपति दंगाल, कलाकार कुमारमणी गजुरेल लगायत धेरैले प्रस्तुति दिएका थिए । भेलोसिटी स्कुलका विद्यार्थीहरुको गायन तथा नृत्यले दर्शकको मन तानेको थियोे ।
मञ्चमा प्रस्तुत लाखे नाच र शिव ताण्डव झनै रोमाञ्चक देखिन्थ्यो । कार्यक्रमको लेखन घनश्याम गौतमले गरेका हुन् भने निर्देशन सुरेन्द्र क्षेत्रीको रहेको थियो । कार्यक्रमको समापन स्कुलका प्रिन्सिपल तथा कार्यक्रमको सभापति रेखा खनालले गरेकी थिइन् । कार्यक्रम सञ्चालन सञ्चारकर्मी तथा रङ्गकर्मी मोहन अभिलाषीले गरेका थिए ।