काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२ आज (शनिबार) बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । वान्खडे स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । टी–ट्वान्टी फर्म्याटमा हुने लिगमा साविकको विजेता चेन्नई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।
चेन्नई रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रनेछ । तत्कालिन कप्तान महेन्द्र सिंह धोनी यसै साता कप्तानको जिम्मेवारी जडेजालाई हस्तान्तरण गरेका थिए। पछिल्ला दुई खेलको नतिजा हेर्दा कोलकातामाथि चेन्नई हाबी छ । चेन्नईले पछिल्ला दुई भेटमा सहज जित निकालेको छ ।
यता, श्रेयस एयरको कप्तानीमा मैदान उत्रने कोलकाता सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो प्रस्तुत गर्ने योजनामा छ । एयरले पहिलो पटक कोलकाताको कप्तानी गर्दैछन् । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।