×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एपीएफ लगातार तेस्रो पटक च्याम्पियन

एपीएफ लगातार तेस्रो पटक च्याम्पियन

काठमाडौं- ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा नेपाल एपीएफ क्लबले कोशी प्रदेशलाई हराउदै च्याम्पियन बनेको छ । 

ललितपुर मेयर्स कपको तीनै संस्करणमा एपीएफ च्याम्पियन भएको छ । पहिलो र दोस्रो संस्करणमा सुदूरपश्चिम प्रदेश पराजित भएको थियो । 

टियु मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गरि एपीएफ च्याम्पियन भएको हो।

एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो । 

कोशीका लागि कप्तान रुविना क्षेत्रीले ४१ बलमा ३५ रन बनाउँदा लकिता राजवंशीले अविजित २१ रन बनाईन् । 

अप्सरी बेगमले १० रन बनाईन् । 

एपीएफका लागि बिनु बुढाले २ तथा सोनु खड्का,रेखा रावल र नेरी थापाले समान १/१ विकेट लिईन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो ।

यो ललितपुर मेयर्स कपको नै सर्वाधिक ठूलो योगफल हो । यस अघि २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स ११ ले लुम्बिनी प्रदेशविरुद्ध १ सय ४४ रन बनाएको थियो ।

एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् । 

इन्दु बर्माले ४१ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो ।

कोशीका लागि अलिसा खडियाले १ विकेट लिईन् । 

अपराजित रहँदै एपीएफ च्याम्पियन बनेको हो । समूह चरणको खेलमा एपीएफले कोशीलाई ७ विकेटले पराजित गरेको थियो ।

गत वर्षको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । प्रतियोगिता चैत ९ गतेबाट सुरु भएको थियो ।

प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी(ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको थियो । 

प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गरेका थिए । 
 

प्रतिकृया दिनुहोस्