×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गर्भवती र सुत्केरीको जानकारी लिन स्वयंसेविकालाई मोबाइल

गर्भवती र सुत्केरीको जानकारी लिन स्वयंसेविकालाई मोबाइल

पोखरा- गाउँमा रहेका सुत्केरी र गर्भवती महिलाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गोरखाको २ वटा वडाले स्वयंसेविकालाई मोबाइल दिएको छ । शहीद लखन गाउँपालिका ७ र ८ नम्बर वडाले स्वास्थ्य केन्द्रमा कार्यरत स्वयंसेविकालाई मोबाइल दिएको हो । 

मोबाइल स्वास्थ्य कार्यक्रम अन्तर्गत बुङकोट स्वास्थ्य चौकी र बुङकोट आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत १२ जनालाई मोबाइल वितरण गरिएको ७ नम्बर वडाका अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । मोबाइलबाट उनीहरूले गर्भवती र सुत्केरी महिलालाई फोन गर्छन् ।

घरमै हुने सुत्केरीलाई निर्मूल पार्न यस्तो अभियान सुरु गरिएको उनले बताए । ‘घरमा सुत्केरी हुँदा धेरैको अकालमा ज्यान जान थाल्यो । कमसेकम स्वास्थ्य स्वयंसेविकाले थाहा पाए भने घरमा हुने सुत्केरी अन्त्य हुन्थ्यो,’ उनले भने, ‘त्यसैले स्वयंसेविकाले जानेका जानकारी महिलाहरूलाई दिने र महिलाको स्वास्थ्य अवस्था बुझ्न मोबाइलको माध्यम राम्रो हुन्छ ।’

दुवै वडा मिलेर त्यहाँका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई गोरखा अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको छ भने ज्येष्ठ नागरिकहरूलाई घर घरमा स्वास्थ्य परीक्षण पनि गर्न थालिएको वडा नम्बर ८ का अध्यक्ष काशीनाथ अंगाईले बताए ।

प्रतिकृया दिनुहोस्