मैदान, मेस्सी र मुस्कान नौला कुरा होइनन् । बल खेलाउने र गोल गर्ने जादुयी कला भएका मेस्सीको भद्र स्वभाव सुनमा सुगन्ध झैँ लाग्छ ।
क्लब फुटबल र व्यक्तिगत रुपमा पनि पाउनुपर्ने सबै उपलब्धि चुमिसकेका मेस्सीको एक सपना थियो‚ राष्ट्रिय जर्सीमा उपाधि उचाल्ने ।
ओलम्पिकमा स्वर्ण पदक जिताउनुबाहेक राष्ट्रिय जर्सीमा कप्तान लियोनल मेस्सीको यात्रा बढीमा फाइनलमात्र पुग्न सकेको थियो ।
अर्जेन्टिनाले उपाधि नजितेको करिब ३ दशक पुरा भएको थियो । मेस्सीले योबीचमा अर्जेन्टिनालाई विश्वकपको फाइनलदेखि कोपा अमेरिकामा पटक-पटक फाइनलसम्म पुर्याए । अन्तत: फाइनलमा निरन्तरको पराजयको अन्त गर्न अर्जेन्टिना सफल रह्यो भने मेस्सीको देशका लागि ट्रफी जित्ने सपना पनि पूरा भयो ।
अर्जेन्टिना र मेस्सीका लागि मात्र होइन, अप्रिल ११, २०२१ को दिन विश्वभरि रहेका मेस्सीका शुभचिन्तकका लागि विशेष महत्वपूर्ण छ । आफ्ना प्रिय खेलाडीबारे आलोचकले भन्ने गरेको ‘मेस्सीले देशलाई केही दिलाउन सकेनन् भन्ने व्यंग्य आजकै दिनदेखि अन्त्य भएको छ । त्यसैकारण पनि मेस्सीको कप्तानीमा अर्जेन्टिनालाई कुनै न कुनै अन्तर्राष्ट्रिय उपाधिसहित उभिएको र मुस्कुराएको क्षण हेर्न पाऊँ भन्ने सपना पूरा भएको दिन पनि हो यो । यो क्षणका लागि उनका प्रशंसकहरू यति व्यग्र थिए कि स्वयम् ब्राजिलका नागरिकले पनि यसपटक बरु आफ्नो देशले हारोस् तर मेस्सीले जितून् भन्ने कामना गरेका थिए ।
उनीहरूप्रति ब्राजिलका कप्तान नेयमार रिसाएनन् मात्र ‘गो टू हेल’ भनेर गाली नै गरे ।
क्लब फुटबलमा सबैखाले उपलब्धि हासिल गरेका मेस्सीले राष्ट्रिय टीमको जर्सीबाट भने सधैं अभागी सावित भइरहेका थिए । व्यक्तिगत रुपमा राष्ट्रिय टीमबाट पनि उनले सबै उपाधि जिते तर जित्न नसकेको ट्रफीका लागि उनले लामो संघर्ष गर्नुपर्यो । अन्तत: उनी जारी प्रतियोगितामा पनि पुनः एकपटक नायक सावित भए । उनी सर्वाधिक गोलकर्ता र प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए र देशलाई च्याम्पियन पनि बनाए ।
आइतबार अर्जेन्टिनालाई महत्वपूर्ण उपलब्धि दिलाउन २२औँ मिनेटमा डी पलको लामो पासलाई एन्जल डी मारियाले गरेको आकर्षक ‘चिप’ नै पर्याप्त भयो । यसअघि १९९३ मा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।
सन् २००५ देखि अर्जेन्टिनाको राष्ट्रिय टीममा रहेका मेस्सीले ३४ वर्षको हुँदा पहिलो अन्तर्राष्ट्रिय ट्रफी जिते । खेल जीवनको उत्तरार्द्धमा आएका मेस्सीका लागि यो प्रतियोगिता ट्रफी जित्ने अन्तिम अवसरका रुपमा हेरिएको थियो ।
मेस्सीले कोपा अमेरिकामा छैटौँ पटक सहभागितामा उपाधि सम्भव बनाएका हुन् । सन् २००७ देखि कोपा खेल्दै आएका उनको १५ वर्षपछि उपाधि चुम्ने अवसर पाए ।
उपाधि जितिसकेपछि मेस्सीले आफ्नी श्रीमति र सन्तानसँग मैदानबाटै फोनमा भिडिओकल गरी खुसी साटेका थिए ।f