×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एनआरएनए जापानमा चुनावी सरगर्मी: कतै निर्विरोधको खुसी, कतै प्रतिस्पर्धाको होडबाजी

एनआरएनए जापानमा चुनावी सरगर्मी: कतै निर्विरोधको खुसी, कतै प्रतिस्पर्धाको होडबाजी


टोकियो - गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय समितिहरूको अधिवेशनको मिति नजिकिँदै गर्दा चुनावी चहलपहल र सरगर्मी ह्वात्तै बढेको छ। एनआरएनए जापान अन्तर्गतका १२ वटै क्षेत्रीय समितिहरूको अधिवेशन आगामी जुन २९ तारिख, आइतबार एकैदिन हुन लागेको हो। उम्मेदवारी दर्ता प्रक्रिया लगभग सकिँदा जापानका विभिन्न क्षेत्रमा नेतृत्वका लागि कतै सर्वसम्मतिको सुखद सन्देश देखिएको छ भने कतै कडा प्रतिस्पर्धाको चित्र उदाएको छ।

चार क्षेत्रमा निर्विरोध नेतृत्व, सहमतिको प्रयास जारी

प्राप्त जानकारीअनुसार, १२ क्षेत्रमध्ये सेन्दाई, चिवा, गुन्मा र ओकिनावा गरी चार क्षेत्रमा संयोजक पदमा निर्विरोध नेतृत्व चयन भएको छ। सेन्दाईमा आशिष गुरुङ, चिवामा कमलप्रसाद सुवेदी, गुन्मामा रामलाल तामाङ र ओकिनावामा सुवास गुरुङ संयोजकमा निर्विरोध निर्वाचित भएका हुन्। सेन्दाईमा तीन जनाको उम्मेदवारी परे पनि भरत बहादुर बम र अनिल गिरीले सहमति जनाउँदै उम्मेदवारी फिर्ता लिएपछि गुरुङ निर्विरोध बनेका थिए। चिवा र ओकिनावामा संयोजक पद निर्विरोध भए पनि अन्य केही पदाधिकारी पदमा भने सहमतिको प्रयास भइरहेको छ।

कान्तो, नागोया र कान्साईमा कडा प्रतिस्पर्धा

सबैभन्दा धेरै नेपालीहरूको बसोबास रहेको र एनआरएनए सदस्यता पनि अत्यधिक भएको कान्तो क्षेत्रमा भने संयोजक पदका लागि केश बहादुर खत्री (सुरज) र दिपक सुवेदी (विप्लव) बीच कडा प्रतिस्पर्धा हुने भएको छ। त्यसैगरी, अर्को महत्त्वपूर्ण क्षेत्र नागोयामा प्रतिक कार्की (दलबहादुर), योमन देवन र देवकुमार घिमिरे गरी तीन जनाले संयोजकमा उम्मेदवारी दिएका छन्। कान्साई क्षेत्रमा पनि सुरेश सापकोटा, तुल्सीराम गौतम र भिम बहादुर घर्तीबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ। यस्तै, तोचिगीमा युवराज लामा, ओम गुरुङ र सोनाम शेर्पा तथा क्यूस्यु क्षेत्रमा कृष्णहरी पाठक र अमृत भट्टबीच संयोजक पदका लागि प्रतिस्पर्धा हुनेछ।

नेतृत्वमा रुचि, तर केही पदमा उम्मेदवारी शून्य

एकातिर संयोजक पदका लागि तीव्र प्रतिस्पर्धा देखिए पनि अर्कोतर्फ कतिपय महत्त्वपूर्ण पदहरूमा उम्मेदवारी नै नपर्नु चिन्ताको विषय बनेको छ। कान्तो, सेन्दाई, कान्साई र ओकिनावा जस्ता प्रमुख क्षेत्रहरूमा समेत महिला उपसंयोजक पदमा कसैको पनि उम्मेदवारी परेको छैन। त्यसैगरी, कान्साईमा सह-कोषाध्यक्ष र एक सहसचिव, तोचिगीमा उपसचिव र सह-कोषाध्यक्ष तथा क्यूस्युमा सहसचिव र युवा संयोजक जस्ता पदहरू पनि उम्मेदवारविहीन बनेका छन्। यसले एनआरएनएको सांगठनिक संरचनामा सबै पदप्रति समान आकर्षण नभएको देखाउँछ।

बाँकी रहेका निगाता, सिजुओका र नागानो क्षेत्रमा भने सहमतिकै आधारमा समिति गठन गर्ने प्रयास भइरहेको सम्बन्धित निर्वाचन समितिले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्