×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कुनै पनि चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

कुनै पनि चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

हेटौँडा- बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले चुनाव नलड्ने घोषणा गरेका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आफू उम्मेदवार नहुने उनले प्रष्ट पारेका छन् । मकवानपुरको १ बाट प्रतिनिधि सभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले फेसबुकमार्फत अब कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् ।

अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न नमिल्ने पौडेलले बताएका छन् । सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘अहिले देशले साँच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा (एमाले)लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन् । यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका व्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आगामी निर्वाचनका सम्भावित उमेदवारहरूका बारेमा चर्चा परिचर्चा सुरू भएको अवस्थामा आफ्नो नाम जोडिएकोमा उनले राजनीति लहड, रहर र दबाब मात्रैले नचली आवश्यकताको वस्तुपरक मूल्यांकनले निर्धारण गरेका कडिहरूका आधारमा उमेद्वार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्ने बताएका छन् ।

यसअघि पौडेल मकवानपुरको क्षेत्र नंबर १ को ‘क’ बाट वागमती प्रदेश सभा सदस्यमा विजयी भइ २०७४ साल माघ २९ गते बागमती प्रदेशको मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए ।

प्रतिकृया दिनुहोस्