काठमाडौँ- आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँको कुल वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६३.७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो ।
यस अवधिमा भारतबाट हुने आयात ४८.४ प्रतिशतले बढेको छ । त्यस्तै, चीनबाट हुने आयात ५५.२ प्रतिशतले र अन्य मुलुकबाट हुने आयात १२४.२ प्रतिशतले बढेको छ ।
पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको छ । तर, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।
यो अवधिमा ६५ अर्ब ५ करोड रुपैयाँ बराबरका कुल वस्तु निर्यात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १०९.५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले बढेको थियो ।
भारतमा हुने निर्यात १४७.१ प्रतिशतले बढेको छ । त्यस्तै, चीनतर्फको निर्यात १९.४ प्रतिशतले र अन्य मुलुकतर्फ भएको निर्यात २७.२ प्रतिशतले बढेको छ।
सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।
निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात बढेको छ ।
आयाततर्फ कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात बढेको छ ।
आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु. ५४ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.३३ अर्ब ९२ करोड बराबरको भएको थियो ।