काठमाडौं - राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।
प्रतियोगिताको छैटौं खेलमा पहिलो जित हात पारेको पोखराले आफ्नो सातौं खेलमा पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गरेको हो ।
टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
पोखरालाई जित दिलाउने क्रममा आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए ।
आसिफ ६२ बलमा ७७ रनमा अविजित रहँदा आरिफले अविजित २६ रन बनाए । सुमित मर्हजन १३ रनमा आउट भए । लुम्बिनीका लागि किशोर महतोले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनामए । सुनिल धमला १५ रनमा आउट हँदा योगेन्द्र सिंह कार्कीले १३ रन बनाए ।
ह्यारी टेक्टर र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १०/१० रन बनाए । पोखराका लागि विपिन खत्री र जाहिर खानले समान ३/३ तथा आरिफ शेख,तुल बहादुर थापा र सिद्धान्त लोहनीले समान १/१ विकेट लिए ।
पाँच खेलमा अपराजित रहेको लुम्बिनी छैठौं खेलमा आएर पराजित भएको छ । हारका बाबजुत पनि लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
सात खेल खेलेर दोस्रो जित हात पारेर ४ अंक सहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा लुम्बिनी ३ विकेटले विजयी भएको थियो ।