काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) पहिलो खेलमा ओमनको सामना गर्दै छ । मोसा क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः १५ बजे सुरु हुनेछ ।
ओमानविरुद्ध मैदान उत्रँदा नेपाल सुखद नतिजाको योजनामा रहेको छ । नेपाल ओमानलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको पक्षमा रहनेछ । ओमान नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । तर, पछिल्लो चार भेटमा नेपालले ओमानलाई एक पटक मात्र हराएको छ। लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।,
लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।