काठमाडौं- अमेरिकामा वार्षिक करिब ७ लाख ९५ हजार अमेरिकीहरू गलत उपचारका कारण मर्छन् वा सधैँका लागि अपांग हुने गरेको खुलासा भएको छ।
जन्स हप्किन्स आर्मस्ट्रङ इन्स्टिच्युट सेन्टर फर डायग्नोसिस एक्सिलेन्सको अध्ययनअनुसार अमेरिकामा वार्षिक ठूलो संख्यामा डाक्टर लगायतका स्वास्थ्यकर्मीले गलत उपचार गर्छन्। यसका कारण करिब ३ लाख ७१ हजार विरामीको मृत्यु हुने गरेको छ भने ४ लाख २४ हजार व्यक्ति सर्वदाका लागि अपांग हुने गरेका छन्।
जनस्वास्थ्यमा आपत्काल
एम्बुलेटरी क्लिनिकहरू र आपत्कालीन विभागमा रोग पत्ता लगाउँदा हुने गल्तीका कारण हुने दुर्घटनाको तथ्यांकसँग जन्स हप्किन्स आर्मस्ट्रङ इन्स्टिच्युट सेन्टर फर डायग्नोसिस एक्सिलेन्सको रिपोर्टमा उल्लेख गरिएका तथ्यांक मेल खान्छ।
यो अध्ययनका प्रमुख लेखक डाक्टर डेभिड न्यूम्यान-टोकरले यो नतिजाले सार्वजनिक स्वास्थ्य क्षेत्रमा आपत्कालीन अवस्थाको संकेत गरेको बताउँछन्। उनले रोगको निदानमा हुने गल्ती सबैभन्दा ठूलो स्वास्थ्य संकट भएको बताए। उनले भने‚ ‘यो संकट हामीले सामना गरिरहेका छौँ।’ चाखलाग्दो कुरा के छ भने प्रतिवेदन जारी हुँदासम्म पनि अमेरिकी नागरिक उपचारका क्रममा हुने लापरवाहीका बारेमा जानकार थिएनन्।
लक्षण मिल्दा गलत उपचार
न्यूम्यान-टोकरले युएसए टुडेलाई भने‚ ‘तिनीहरूका लक्षण अन्य अवस्थाका लक्षणहरू जस्तै देखिँदा चिकित्सकहरूले प्रायजसो विरामीको गलत उपचार गर्छन्। एकतर्फी पक्षघात भई बोल्न नसक्ने अवस्थामा रहेका विरामीलाई हामी स्ट्रोक भनिदिन्छौँ।’
कतिपटक गलत उपचार हुन्छ
प्रतिवेदनमा भनिएको छ - डाक्टरहरूले कम्तिमा ११ प्रतिशत विरामीको गलत रोग भनिदिन्छन्। कतिपय रोग पत्ता लाग्ने सम्भावना कम हुन्छ भने आधाभन्दा बढी अवस्थामा पत्ता नलागेका अरू पनि हुन्छन्। उदाहरणका लागि हृदयघातको गलत निदान हुने सम्भावना कम हुन्छ। यो रोगमा अमेरिकाले दशकौंदेखि लगानी गरेको छ। अर्कोतर्फ स्पाइनल कर्डका रोगमा प्रायः गलत उपचार गरिन्छ।