काठमाडौं - आज असार १५, राष्ट्रिय धान दिवस । कृषिप्रधान देश नेपालमा आज खेतमा रोपाइँ गरी, हिलो खेल्दै र दही चिउरा खाएर यो दिवस धुमधामका साथ मनाइँदैछ । 'छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला' जस्ता असारे भाका गुन्जाउँदै किसानहरू बिहानैदेखि रोपाइँमा व्यस्त छन् ।
रोपाइँको थकान मेटाउन र शरीरमा शीतलता प्रदान गर्न दही चिउरा खाने परम्परा छ । यसकारण असार १५ लाई 'दही चिउरा खाने पर्व'का रूपमा पनि लिइन्छ । आजको दिन खेतीपातीमा संलग्न नभएकाहरूले पनि दही चिउरा खाएर सांस्कृतिक ऐक्यबद्धता जनाउँछन् ।
नेपाली संस्कृतिमा दहीको विशेष महत्त्व छ । शुभकार्यको साइतदेखि सगुनका रूपमा दहीको प्रयोग हुँदै आएको छ । स्वास्थ्यका दृष्टिले पनि दहीलाई अत्यन्तै लाभदायक मानिन्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउने र शरीरलाई ऊर्जा दिने काम गर्छ ।
सरकारले वि.सं. २०६१ मंसिर २९ गतेको निर्णयअनुसार २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो । यो दिवसले नेपालको कृषि संस्कृति र किसानको श्रमलाई सम्मान गर्ने उद्देश्य राखेको छ ।
तर, यस वर्ष असारको मध्यसम्म पनि पर्याप्त पानी नपर्दा देशभर रोपाइँ प्रभावित बनेको छ । किसानहरूले समयमै मल नपाएको गुनासो गरिरहेका छन् । यद्यपि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने रासायनिक मलको अभाव नरहेको बताउँदै आएको छ ।